आर्मीलाई हराउँदै मधेसले जित्यो ‘केपी ओली कप’को उपाधि

  • प्रकाशित मिति : December 1, 2023
  • नयाँ सवाल

काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो ।

शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाए । विवेक यादवले २५, बसिर अहमेदले २२ रन जोड्दा सोमपाल कामी र सन्तोष कार्कीले समान १६ रन बनाए ।

मधेसका कप्तान हरिशंकर साहले चार विकेट लिए । चार ओभर बलिङ गरेका हरिशंकरले १९ रनमात्र खर्चिए । प्रदीप पासवानले दुई र प्रथिक यादवले एक विकेट लिए ।