नवराज केसीको ‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७९ सालको उत्तम शान्ति पुरस्कार डा. नवराज केसीको गैरआख्यान ‘शून्यको मूल्य’लाई समर्पण गरेको छ ।

शुक्रबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रममा संरक्षकद्वय अणिमा कुँवर खडायत, अनामिका कुँवर सिंह र अध्यक्ष डा. पार्थिवेश्वर तिमिल्सिनाले डा. केसीलाई पुरस्कार समर्पण गरे । पुरस्कारका साथ नगद राशि एक लाख एक रुपैयाँ प्रदान गरियो ।

कार्यक्रममा मन्तव्य दिँदै पुरस्कृत स्रष्टा डा. केसीले शून्यको मूल्य लेख्नुको कारण बताए । उनले कर्णाली क्षेत्रको पीडा उल्लेख गर्दै प्राप्त पुरस्कारको रकम कर्णालीकै एउटा गाउँ इखेनीमा आर्थिक उपार्जनमा सक्रिय आमाहरूको सहयोगमा खर्चिने बताए ।

डा. केसीले कर्णालीका अब आउने पुस्ताले बलियो समाज निर्माण गर्ने विश्वास व्यक्त गरे ।